इकिटीकेको दुई गोलमा लिभरपुलको न्युक्यासलमाथि शानदार जित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले घरेलु मैदान एन्फिल्डमा न्युक्यासल युनाइटेडलाई ४–१ ले पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा ह्युगो इकिटीकेको दुई गोल प्रेरणादायी बनेपछि लिभरपुलले प्रभावशाली जित दर्ता गर्यो। खेलको ३६औँ मिनेटमा एन्टोनी गोर्डनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए पनि त्यो अग्रता लामो समय टिक्न सकेन।
४१औँ मिनेटमा ह्युगो इकिटीकेले बराबरी गोल फर्काउँदै घरेलु समर्थकलाई उत्साहित बनाए। त्यसको दुई मिनेटपछि नै इकिटीकेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमै अग्रता दिलाए। दोस्रो हाफमा पनि लिभरपुलले खेल नियन्त्रणमा राख्यो।
५९औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै अग्रता ३–१ मा पुर्याए। खेलको इन्ज्युरी समयमा इब्राहिमा कोनाटेले गोल गरेपछि लिभरपुलको जित सुनिश्चित भयो। यस जितसँगै लिभरपुलले २४ खेलबाट ३९ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
लिभरपुलको यो सिजन ११ जित, ६ बराबरी र ७ हार रहेको छ। पराजय व्यहोरेको न्युक्यासल युनाइटेड ३३ अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ।













