रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ।
आइतबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ तोकिएको हो। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयनपत्र माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो।
उक्त निर्णय बदर गर्न माग गर्दै उनले माघ ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको निर्णयमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार उम्मेदवारी कायम रहन नसक्ने उल्लेख गरिएको छ।
निर्णयमा चौधरी जन्मकैदको सजाय पाएको देखिनु, सो सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य ठहरिनु, साथै यसअघि निर्वाचन आयोगले राजनीतिक दलको सदस्य बन्न अयोग्य ठहर गरेको निर्णयलाई समेत आधार बनाइएको जनाइएको छ।
यसअघि माघ ११ गते प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश बालकृष्ण ढकालको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि बोलाएको थियो। त्यसपछि माघ १५ गते पनि पेसी तोकिए पनि जवाफ पेस नभएकाले अघिल्लो आदेशलाई नै निरन्तरता दिइएको थियो।
टीकापुर घटनासम्बन्धी मुद्दामा रेशम चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका भए पनि प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ।
यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनको उम्मेदवारी खारेज भएपछि उनका बुवा लालवीर चौधरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए, जो हाल नागरिक उन्मुक्ति पार्टी नेपालसँग आबद्ध छन् ।












