नयाँ संसद बैठक नयाँ संसद भवन नै बस्ने

User Image Prime TV News एक महिना अगाडि
Image of नयाँ संसद बैठक नयाँ संसद भवन नै बस्ने

काठमाडौ । संघीय संसद सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसदको लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ । 

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिए ।

अहिले नयाँ संसद भवन बाहेक अन्य बिकल्पमा कुनै छलफल नभएको उनले बताए । नयाँ संसद भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद सचिवालयको विश्वास रहेको उनको भनाइ छ ।

प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा पन्ध्र बिस दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे । नयाँ संसद भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटा मध्ये बैठक कक्ष सहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको जानकारी दिए । 

तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमश अन्य कामहरु नयाँ भवनबाट सुरु गर्नेगरि तयारी भएको भन्दै प्रवक्ता गिरीले यसअघि संसद सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचार समेत गरेको वताए ।