नेपाल प्रहरीको साइबर भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्ने सहमति

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल प्रहरीको साइबर भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्ने सहमति

काठमाडौ । नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भोटाहिटीस्थित भवन अब काठमाडौं महानगरपालिकाले प्रयोग गर्न पाउने भएको छ ।

गृह मन्त्रालयले यस भवन र जग्गा महानगरपालिकालाई प्रयोग गर्न दिने सहमति प्रदान गरेको हो। भवन र जग्गा कित्ता नम्बर ३५३, ३५४ र ३५५, कुल ४ आना, २ पैसा, १ दाम क्षेत्रफलमा फैलिएको छ। गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलका अनुसार, आइतवार भएको छलफलपछि दुई पक्षबीच सहमति भएको हो।

यस सहमतिअनुसार, रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखाको ७ रोपनी, २ पैसा, ३ दाम जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने महानगरपालिकासँग सहमति भएको छ। साथै, उक्त जग्गा दर्ता भएपछि कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयको लागि सुरक्षित गरिने र बाँकी जग्गा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रयोग गर्ने व्यवस्था तय गरिएको छ।

यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्यूरो भवनमा वडा कार्यालय स्थापना गर्न माग गरेको थियो। सार्वजनिक/सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी प्रावधान भए पनि, उपभोगका लागि सम्बन्धित निकायसँग समन्वय र गृह मन्त्रालयको सहमति आवश्यक हुने नियमअनुसार यो निर्णय गरिएको हो।