स्थिर, बलियो र जबाफदेही शासन व्यवस्थाकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक छः उपेन्द्र यादव

User Image Prime TV News एक महिना अगाडि
Image of स्थिर, बलियो र जबाफदेही शासन व्यवस्थाकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक छः उपेन्द्र यादव

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा स्थिर, बलियो र जबाफदेही शासन व्यवस्था स्थापना गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भएको दाबी गरेका छन्।

सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका यादवले आइतबारको चुनावी अभियानको क्रममा पार्टीको प्रत्यक्ष राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी संसद् संरचनामा आधारित अडानमा रहेको बताएका हुन् । 

यादवले भने, “बारम्बार सरकार फेरिने, मन्त्रीहरू बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य छैन। देशलाई स्थिर, जबाफदेही र जनउत्तरदायी शासन प्रणालीको आवश्यकता छ। त्यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको छ।”

उनले वर्तमान गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारमा नकारात्मक असर पुर्‍याएको बताए। यादवका अनुसार, पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकार, सत्ताको जोडघटाउमा अल्झिने राजनीति र नीति निरन्तरता अभावले जनतामा गहिरो निराशा बढाएको बताए । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू भएमा शासन स्थिर हुने मात्र होइन, राष्ट्रपति प्रत्यक्षरूपमा जनताप्रति उत्तरदायी हुनेछन्। उनले बताए, “राष्ट्रपति जनताले सिधै चुनेका हुनाले शक्तिको स्रोत पार्टी होइन, जनता नै हुन्छन्। राष्ट्रपति पहिलो उत्तरदायित्व जनताप्रति हुनेछ, सरकार टिकाउन सत्ता–सम्झौताप्रति होइन।”

यसैगरी, यादवले जसपा नेपालको प्रस्तावित संसद् प्रणाली पूर्ण समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने पनि स्पष्ट पारे। यसले मधेसी, आदिवासी, दलित, महिला, थारु, मुस्लिम, पिछडिएका क्षेत्र र सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वास उनले व्यक्त गरे।

यादवले विगतमा बारम्बार सरकार परिवर्तन हुँदा नीति र योजना अलपत्र परेको स्मरण गर्दै भने, “नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र रह्यो। यही चक्र दोहोरिँदा जनताले के पाए?” जसपा नेपालको यो प्रस्तावले नेपालमा स्थिर र जबाफदेही शासन व्यवस्थाको नयाँ विकल्प प्रस्तुत गर्ने यादवले बताए।