कोरियाली अधिकारीद्वारा ईपीएस कर्मचारी सुरक्षामा चासो व्यक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा कार्यरत कर्मचारीको सुरक्षाप्रति कोरियाली सरकारले चासो व्यक्त गरेको छ।
कोरियास्थित नेपाली दूतावासमा भएको बैठकमा कोरियाली अधिकारीहरूले आफ्ना कर्मचारी र रोजगारदाताको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग अनुरोध गरेका हुन्। गत दुई वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरिसकेका युवा ईपीएस मार्फत कोरिया जान पाउन नसक्दा ललितपुर ग्वार्कोस्थित ईपीएस शाखा कार्यालयमा विरोध प्रदर्शन गर्दै आएका छन्।
प्रदर्शनकारीहरूले कोरियाली कर्मचारीहरूको फोटो प्रदर्शनमा देखाएपछि अधिकारीहरूले आफ्ना कर्मचारीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका थिए। कोरियाली अधिकारीहरूले बैठकमा “हाम्रा कर्मचारीलाई खतरा भयो भने फिर्ता बोलाउनुपर्ने अवस्था आउन सक्छ, जसले ईपीएसको भविष्यमा असर पार्छ” भनी चेतावनी दिएका थिए।
यसमा नेपाल सरकारले सुरक्षामा कुनै समस्या नरहेको आश्वासन दिएको छ। सन् २०२४ का लागि उत्पादन र कृषि क्षेत्रमा १ लाख ६३ हजारले आवेदन दिएका थिए, जसमा १७ हजार ३० जना भाषा परीक्षा उत्तीर्ण भएका छन्। तर अधिकांशले अझै करार सम्झौता नभएकाले कोरिया जान पाएका छैनन्। उनीहरू आफ्नो रोस्टर समय सकिन लाग्दा आन्दोलन गर्दै आएका छन्।













