परराष्ट्र मन्त्रालयले इरान जाने नेपालीहरूलाई सतर्क रहन ट्राभल एड्भाइजरी जारी

User Image Prime TV News एक महिना अगाडि
Image of परराष्ट्र मन्त्रालयले इरान जाने नेपालीहरूलाई सतर्क रहन ट्राभल एड्भाइजरी जारी

काठमाडौ । परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिक र त्यसतर्फ जानेहरूका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सतर्क रहन अनुरोध गरेको छ।

मन्त्रालयले पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै अवस्था सामान्य नहुँदासम्म इरान भ्रमण नगर्न भनेको छ। एड्भाइजरी अनुसार, इरानमा बसोबास गर्दै आएका वा कामका लागि पुगेका नेपाली नागरिकहरूले सक्दो चाँडो सुरक्षित माध्यमबाट देश फर्किन योजना बनाउनुपर्ने छ।

आपतकालीन अवस्थामा प्रयोगका लागि राहदानी, परिचयपत्र र अन्य महत्वपूर्ण कागजात तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। आवश्यक परेमा समन्वयका लागि दोहास्थित नेपाली दूतावास र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको छ।

इरानमा डिसेम्बर २८ देखि महंगी, मुद्रास्फिति र सरकारको आर्थिक नीतिका विरोधमा प्रदर्शन जारी छ। प्रदर्शन सुरुमा आर्थिक कारणले भए पनि विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कदमको विरोधमा पुगेको छ। प्रदर्शनको क्रममा धेरै मानिसको मृत्यु भएको जनाइएको छ, तर इरान सरकारले आधिकारिक संख्या सार्वजनिक गरेको छैन।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, अमेरिकाले प्रदर्शनकारीको पक्षमा रहेको र आवश्यक परे हस्तक्षेप गर्ने चेतावनी दिएको थियो। यसको प्रतिक्रियामा इरान सरकारले आफ्नो आन्तरिक मामिला भएको भन्दै हस्तक्षेप नगर्न चेतावनी दिएको छ। सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीलाई आतंककारी घोषणा गर्दै सरकारको आवश्यक कदम चाल्ने संकेत गरेका छन्।