युएईको राष्ट्रिय दिवसमा २६७ नेपाली नागरिकलाई आममाफी

User Image Prime TV News एक महिना अगाडि
Image of युएईको राष्ट्रिय दिवसमा २६७ नेपाली नागरिकलाई आममाफी

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

यसप्रति नेपाल सरकारले युएई सरकारलाई आभार र कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकलाई प्रदान गरिएको आममाफीलाई नेपाल–युएईबीचको द्विपक्षीय सम्बन्ध, मित्रता र सद्भावनाको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार, आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशनमा आबुधाबीस्थित नेपाली दूतावासले निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो। ती प्रयासकै परिणामस्वरूप युएई सरकारले नेपाली नागरिकहरूलाई आममाफी दिएको जनाएको छ।

आममाफी पाएका नेपाली नागरिकहरूमाथि यदि अन्य कुनै मुद्दा विचाराधीन नरहेमा उनीहरू नेपाल फर्किन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ।