७०औँ वर्षगाँठमा नेपाल–जापान सम्बन्ध पुनः सक्रिय बनाउने प्रयास, राष्ट्रपति पौडेल जापान भ्रमणमा

User Image Prime TV News एक महिना अगाडि
Image of ७०औँ वर्षगाँठमा नेपाल–जापान सम्बन्ध पुनः सक्रिय बनाउने प्रयास, राष्ट्रपति पौडेल जापान भ्रमणमा

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि सोमबार बिहान जापान पुगेका छन्।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनी जापान सरकारको निमन्त्रणामा त्यहाँ पुगेका हुन्।

प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान पुगेका राष्ट्रपति पौडेललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका छन्।

भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा उनले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ।

राष्ट्रपति पौडेलले भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट गर्नेछन्। साथै जापानी व्यावसायिक समुदायसँगको छलफल र जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा उनको सहभागिता रहनेछ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए।

राष्ट्रपति पौडेल माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ। उनी आइतबार राति नेपालबाट जापान प्रस्थान गरेका थिए।