युक्रेनको निप्रोमा खानी मजदुर बोकेको बसमाथि रुसी ड्रोन हमला, १२ जनाको ज्यान गयो

User Image Prime TV News एक महिना अगाडि
Image of युक्रेनको निप्रोमा खानी मजदुर बोकेको बसमाथि रुसी ड्रोन हमला, १२ जनाको ज्यान गयो

काठमाडौ । युक्रेनको निप्रो सहरमा खानी मजदुरहरू बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

आइतबार भएको आक्रमणमा सात जना घाइते भएका छन्। मृतक र घाइते सबै सर्वसाधारण खानी मजदुर भएको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्।

युक्रेनी आपत्कालीन सेवाका अनुसार ड्रोन प्रहारपछि बसमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले आक्रमणमा परेको बस आफ्नै भएको जनाएको छ। कम्पनीका अनुसार उक्त बसले निप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेको खानीबाट सिफ्ट सकेर मजदुरहरूलाई घर फर्काउँदै थियो।

डीटीईकेले रुसले आफ्ना खानी क्षेत्रहरूलाई लक्षित गर्दै ठूलो परिमाणको आतंकवादी हमला गरेको आरोप लगाएको छ। निप्रो निप्रोपेत्रोभ्स्क क्षेत्रको प्रशासनिक केन्द्र हो। पछिल्लो समय रुसले यस क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र आक्रमण तीव्र बनाउँदै आएको छ।

यो आक्रमण रुस–युक्रेनबीच युद्धविरामका लागि वार्ता हुने तयारी भइरहेका बेला भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी ४ र ५ मा अबु धाबीमा रुस र युक्रेनबीच अर्को चरणको वार्ता हुने पुष्टि गरेका छन्। उक्त वार्तामा अमेरिकाको पनि सहभागिता रहने अपेक्षा गरिएको छ।

जेलेन्स्कीले युक्रेन युद्ध अन्त्यका लागि ठोस र परिणाममुखी वार्ताको पक्षमा रहेको बताएका छन्। तर वार्ताको घोषणा नहुँदै सर्वसाधारण मजदुर बोकेको बस र अस्पतालजस्ता नागरिक संरचनामाथि आक्रमण हुनु रुसको नियतमाथि गम्भीर प्रश्न उठाउने खालको भएको युक्रेनी पक्षको भनाइ छ ।