युएईले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दियो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई) को भिसा प्राप्त गरेको छ ।
भिसा प्राप्ती संगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, वेस्ट इन्डिज ‘ए’ टोलीसँगको तीन टी–२० म्याचको श्रृंखलामा सहभागी हुन नेपाली टोली युएई जान लागेको हो।
केही समयअघि नेपालमा जेनजी आन्दोलनको क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि युएई सरकारले नेपाली नागरिकहरूलाई भिसा दिन रोक लगाएको थियो। सोही कारण नेपाली खेलाडीहरूको भिसा प्रक्रिया ढिलो भएको थियो।
खेलाडीहरूले भिसाका लागि आवेदन दिएपनि नियमित प्रक्रियाबाट स्वीकृति नआएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पहल गरेको थियो। ती प्रयासहरू सफल भएसँगै अन्ततः नेपाली टोलीले भिसा प्राप्त गरेको हो।
वेस्ट इन्डिज ‘ए’ सँगको तीन म्याचको टी–२० श्रृंखला सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट रंगशालामा हुनेछ। यसका लागि क्यानले मैदान बुक गरिसकेको छ र अनलाइनमार्फत टिकट बुकिङको प्रक्रिया पनि सुरु भइसकेको छ। उक्त प्रतियोगिताको सम्पूर्ण खर्च तथा व्यवस्थापन नेपाल क्रिकेट संघले नै गर्नेछ।








