सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ७ हजार बढी प्रहरी परिचालन

User Image Prime TV News एक महिना अगाडि
Image of सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ७ हजार बढी प्रहरी परिचालन

धनगढी । सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार निर्वाचन सुरक्षाका लागि ७ हजार ५८ जना नेपाल प्रहरी परिचालन गरिनेछ।

प्रहरीसँगै ९ वटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरी सहयोगीको रूपमा खटाइने छन् भने सशस्त्र प्रहरीतर्फ १ हजार ५१९ जना परिचालन गरिनेछ। प्रदेशभर रहेका मतदान स्थल र केन्द्रलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको छ।

सुदूरपश्चिममा कुल १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ३०० मतदान स्थल सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील सूचीमा परेका छन्। यस्तै मतदान केन्द्रमध्ये ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशील रहेका छन्।

सुरक्षा वर्गीकरणअनुसार सामान्य मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशील केन्द्रमा १० जना प्रहरी परिचालन गरिने एसएसपी विष्टले जानकारी दिए। मतदान केन्द्रको भित्री सुरक्षामा प्रहरी खटाइनेछ भने बाहिरी सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिनेछ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन्। तीमध्ये ८ लाख ६४ हजार ४२३ महिला र ८ लाख ५२ हजार २१९ पुरुष मतदाता रहेका छन्। यसपटक सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दल निर्वाचन प्रतिस्पर्धामा रहेका छन्।

विगतका निर्वाचनमा भएका घटनालाई आधार मान्दै बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लालाई अतिसंवेदनशील सूचीमा राखी विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।