अमेरिका–इरान तनाव चुलिँदै, खामेनीद्वारा क्षेत्रीय युद्धको चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिका–इरान तनाव चुलिँदै, खामेनीद्वारा क्षेत्रीय युद्धको चेतावनी

काठमाडौ । इरान र अमेरिकाबीचको तनाव थप चुलिँदै गएको छ। इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरेमा यसले क्षेत्रीय युद्धको रूप लिन सक्ने चेतावनी दिएका छन्।

इरान वरपर अमेरिकाले थप सैन्य टोली र उपकरण तैनाथ गरिरहेका बेला खामेनीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार खामेनीले अमेरिकी धम्कीबाट इरान नडराउने स्पष्ट पारेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पारमाणविक कार्यक्रम र सरकारविरोधी प्रदर्शनकारीमाथि गरिएको दमनलाई लिएर कडा अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्प प्रशासनको कठोर नीतिका कारण इरानसहित खाडी क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

यसैबीच, नेपाल सरकारले इरानमा बढ्दो अस्थिरतालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई इरान नजान तथा त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा फर्किन ट्राभल एडभाइजरी जारी गरेको छ।

तनाव चर्किँदै गए पनि शान्ति स्थापना गर्न कूटनीतिक प्रयासहरू जारी छन्। विशेषगरी कतारले मध्यस्थताको पहल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी गम्भीर छलफल भइरहेको बताएका छन् भने इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि वार्ता सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सामाजिक सञ्जालमार्फत मिडियामा देखाइएजस्तो युद्धको वातावरणभन्दा फरक रूपमा वार्ताको ढाँचा निर्माणको काम अघि बढिरहेको बताएका छन्। तर वार्ता कुन तहमा र कस्तो स्वरूपमा भइरहेको हो भन्ने विषयमा भने दुवै पक्षले स्पष्ट जानकारी दिएका छैनन्।

अन्तर्राष्ट्रिय समुदायले अमेरिका–इरान तनावले मध्यपूर्व क्षेत्रमा गम्भीर संकट निम्त्याउन सक्ने भन्दै चासो व्यक्त गरिरहेको छ।