एमाले छाडे पूर्वमन्त्री जितेन्द्र देव, नेतृत्व शैलीप्रति असहमति

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले छाडे पूर्वमन्त्री जितेन्द्र देव, नेतृत्व शैलीप्रति असहमति

काठमाडौ । पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

उनले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीभित्र व्यक्तिवाद हावी हुँदै गएको, नेतृत्व देवत्वकरणतर्फ उन्मुख भएको तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन भइरहेको भन्दै एमाले छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

लामो समय एमालेको राजनीतिमा सक्रिय रहेका सप्तरीका देव पछिल्लो पटक १७ असार २०८१ मा मात्रै एमाले फर्किएका थिए। तर फर्किएको करिब एक वर्ष नपुग्दै उनले पुनः पार्टी परित्याग गरेका हुन्।

देव एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा उपाध्यक्ष रहँदै पार्टी राजनीतिमा स्थापित भएका थिए। बौद्धिक नेताका रूपमा परिचित उनलाई पार्टीले नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो। नागरिकता वितरणसम्बन्धी नीतिमा पार्टीको अडानसँग असन्तुष्टि जनाउँदै आएका उनी पछि केन्द्रीय कमिटी सदस्यसमेत बनेका थिए।

संघीयता र पहिचानको राजनीतिक बहस तीव्र बन्दै जाँदा २०६३ सालमा देवले एमाले छाडेर मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। पछि विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा महासचिव बनेका देव संविधानसभा सदस्य हुँदै पर्यटन तथा संस्कृति मन्त्री बने।

फोरम लोकतान्त्रिक नेपाली कांग्रेससँग एकता भएपछि देव कांग्रेसमा समाहित भए र कांग्रेसबाट राष्ट्रियसभा सदस्य बने। २० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी पुनः वामपन्थी धारमा फर्किँदै एमाले प्रवेश गरेका थिए।