प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभामा पहिलो सम्बोधनः परिस्थितिले यहाँसम्म ल्यायो, रहरले होइन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभामा पहिलो सम्बोधनः परिस्थितिले यहाँसम्म ल्यायो, रहरले होइन

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छन्। सभालाई सम्बोधन गर्दै उनले आफू परिस्थितिको परिणामस्वरूप प्रधानमन्त्री बनेको बताएकी छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले यो जिम्मेवारी आफ्नो चाहनाले नभई समय र परिस्थितिले ल्याएको स्पष्ट पारिन्। राष्ट्रिय सभामा पहिलोपटक बोल्दै उनले यो अवसर जीवनमा दोहोरिन कठिन हुने उल्लेख गरिन्।

‘जीवनमा यस्तो मौका पनि आयो। परिस्थितिले ल्याएको हो, रहरले होइन। मैले खोजेर गएको पनि होइन, परिस्थितिले बाध्य बनायो र म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्। उनले अहिले प्राप्त अवसर फेरि पाउने आशा समेत नरहेको बताइन्।

पहिलोपटक संसद्मा सम्बोधन गर्ने अवसर पाएकोमा आफू खुसी भएको बताउँदै प्रधानमन्त्री कार्कीले यसलाई जीवनको महत्वपूर्ण अनुभवका रूपमा लिएको उल्लेख गरिन्। ‘आजको दिनलाई म जीवनको एउटा राम्रो अनुभवको रूपमा लिएको छु। समयले साथ दिएर यस्तो मोड आयो। यहाँ हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ,’ उनले भनिन्।