स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील छः प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील छः प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् ।

सोमबार काठमाडौंमा नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसे ढुङ्गा भएको भन्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचित सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताइन् । 

नेपाल प्रहरीको बिगतदेखि वर्तमानसम्मको क्रियाकलापले प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने प्रमाणित भएको भन्दै उनीले कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिइन् । सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको प्रधानमन्त्री कार्कीको भनाई थियो ।

परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेका अवस्थामा प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही, एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा कार्कीले जोड दिइन् । 

त्यस्तै समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभइ अभिभावक पनि रहेकाले प्रहरीलाई नियन्त्रण गर्ने नभइ सक्षम बनाउन चाहेको बताउनुभयो । प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबूती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।