प्रतिनिधि सभा सदस्य निर्वाचन तोकेको समयमा, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन्छः प्रधानमन्त्री कार्की
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकेको समयमा, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुने आश्वासन दिएकी छन्।
माघ ४ गतेदेखि सुरु भएको १९औँ अधिवेशनको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सरकारका प्राथमिकताका रूपमा रहेको निर्वाचन तयारी, सुशासन र विकासका क्षेत्रमा भइरहेको कामबारे जानकारी गराइन्।
कार्कीले भनिन्, “म कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले, तोकिएको समयमा निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छु।” उनले राष्ट्रिय सभामा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदलाई बधाई पनि दिइन्।
यसै अवसरमा उनले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तद्वारा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ पनि दिइन्।













