नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौः राष्ट्रपति

User Image Prime TV News एक महिना अगाडि
Image of नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौः राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन जापानमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्याए पश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको छ बताए ।

“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको छ, हामी उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आमन्त्रण गर्न चाहन्छौं”, राष्ट्रपति पौडेलले भने। 

उनले आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँस्तरमा पुर्याउन र आगामी वर्षहरूमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन  जनता–जनताबीचको सम्पर्कलाई समेत समेटेको र यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत् थप  सुदृढ हुँदै गएको उनको भनाई थियो । 

“नेपाल र जापानबीच विशेष गरी भगवान बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौं”, राष्ट्रपति पौडेलले भने । 

उनले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताए । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धी हुने प्रसङ्ग उनले उल्लेख गरे ।

“त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौं”, राष्ट्रपति पौडेलले भने। 

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकोमा उनले प्रसन्नता व्यक्त गरे । “साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भने । 

जापान नेपाली युवा र विद्यार्थीहरूको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको  सुरक्षा सुनिश्चितता गरेकोमा जापानप्रति उनलेआभार व्यक्त गरे । “हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौं, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भने ।