फागुन १ देखि स्वास्थ्य बिमाको ओपीडी सेवा २५ हजारमा सीमित

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन १ देखि स्वास्थ्य बिमाको ओपीडी सेवा २५ हजारमा सीमित

काठमाडौ । स्वास्थ्य बिमा बोर्डले व्ययभार कम गर्ने उद्देश्यसहित फागुन १ गतेदेखि बहिरंग (ओपीडी) सेवा सुविधा घटाउने निर्णय गरेको छ।

अब स्वास्थ्य बिमा गरेका एक परिवारले एक आर्थिक वर्षमा अधिकतम २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी उपचार सुविधा पाउनेछन्। बोर्डको गत २४ पुसमा बसेको बैठकले गरेको निर्णयबारे सोमबार सूचना जारी गर्दै जानकारी दिइएको हो। सूचनाअनुसार, बीमितले ओपीडी सेवामा तोकिएको सीमा ननाघ्ने गरी मात्र उपचार सुविधा पाउनेछन्।

बोर्डका अनुसार, ओपीडीपछि भने अस्पताल भर्ना, ल्याब परीक्षण तथा आकस्मिक उपचार सेवा भने यथावत् रहनेछन्। उपचार खर्चमध्ये सबैभन्दा धेरै रकम ओपीडी सेवामै खर्च हुने भएकाले त्यसमा सीमा तोकिएको बोर्डले जनाएको छ।

यसअघि स्वास्थ्य बिमा बोर्डले सात जनाको परिवारबाट ३ हजार ५ सय रुपैयाँ योगदान लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउँदै आएको थियो। तर, अस्पतालहरूलाई भुक्तानी रकम अत्यधिक बढ्दै गएको र आर्थिक भार नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना भएकाले सेवा सुविधा घटाउनुपरेको बोर्डको भनाइ छ।

बोर्डका अनुसार हालसम्म अस्पतालहरूलाई करिब ११ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। यहि आर्थिक दबाबका कारण ओपीडी सेवामा कटौती गरिएको जनाइएको छ। यद्यपि, बोर्डले आठ प्रकारका कडा तथा दीर्घरोगको उपचार सेवा भने हालको व्यवस्थाअनुसार नै निरन्तर रहने स्पष्ट पारेको छ।

स्वास्थ्य बिमा सेवामा गरिएको यो परिवर्तनले सर्वसाधारण बीमितमा कस्तो प्रभाव पार्ने भन्ने विषयमा भने सरोकारवालाहरूको चासो बढ्न थालेको छ।