एनआरएनए १२औँ विश्व सम्मेलन तथा एकता महाधिवेशन फागुन ३० देखि काठमाडौँमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गैरआवासीय नेपाली संघको १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा वृहत अन्तर्राष्ट्रिय एकता महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ।
संघले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सम्मेलन तथा महाधिवेशनको मिति र तयारीबारे जानकारी गराएको हो। सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ। उक्त समितिको सचिवालयको जिम्मेवारी एनआरएनएको केन्द्रीय सचिवालयले नै निर्वाह गर्नेछ।
संघका अध्यक्ष डा. बद्री केसीका अनुसार सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त संवैधानिक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरणलगायत विषयमा गहन छलफल हुने छ। साथै विदेशमा जन्मिएका नेपाली मूलका युवाहरूलाई नेपालसँग जोड्ने विषय पनि प्रमुख एजेन्डाका रूपमा समेटिने उनले बताए।
अध्यक्ष केसीले यो एकता महाधिवेशनले गैरआवासीय नेपालीहरूले भोग्दै आएका समस्याको समाधानका लागि सरकारमाथि सकारात्मक दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले विदेशमा रहेका नेपालीलाई नेपालको निर्वाचन प्रक्रियामा सहभागी हुने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
उनका अनुसार हाल करिब ८० लाख नेपाली विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांशले नेपाली नागरिकता कायम राखेकै छन्। विदेशमा बसेर पनि नेपालमा मतदान गर्न पाउनु गैरआवासीय नेपालीहरूको नैसर्गिक अधिकार भएको उनले बताए।
“परिवर्तित नेपालमा मूल्य र मान्यताहरू पनि बदलिएका छन्। अब विदेशमा बसेर पनि नेपालको निर्वाचनमा सहभागिता जनाउन पाउनु हाम्रो मौलिक अधिकार हो,” अध्यक्ष केसीले भने।
उनले विश्वका विकसित राष्ट्रहरू आप्रवासीको योगदानबाट नै समृद्ध बनेको उदाहरण दिँदै गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पूँजी स्वदेश भित्र्याएर देश विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने दाबी गरे। नेपालमा लगानी गर्न गैरआवासीय नेपाली पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ।













