भारतमा नेपाली नक्कली नोट छाप्ने कारखाना फेला पर्यो, तीन नेपालीसहित १० जना पक्राउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारतको बिहार राज्यमा नेपाली नक्कली नोट छाप्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध भारतीय सुरक्षाकर्मीले ठूलो कारबाही गरेका छन्। सो कारबाहीमा तीन जना नेपाली नागरिकसहित १० जनालाई पक्राउ गरिएको छ।
बिहारको सीतामढी जिल्लास्थित मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ) ले संयुक्त रूपमा छापा मार्दा अत्याधुनिक प्रविधिबाट नक्कली नोट छापिँदै गरेको कारखाना फेला परेको भारतीय प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले कारखानालाई पूर्ण रूपमा ध्वस्त पारेका छन्।
छापाका क्रममा प्रहरीले २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १ लाख ४० हजार रुपैयाँ सक्कली नेपाली रुपैयाँ, १ हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट छाप्न प्रयोग हुने विशेष कागजका २२ बण्डल, विभिन्न रसायन तथा अन्य सामग्री बरामद गरेको छ। नक्कली नोट ओसारपसारमा प्रयोग गरिएका तीनवटा मोटरसाइकल र एउटा कार पनि नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले खुला नेपाल–भारत सिमानाको दुरुपयोग गर्दै नेपालमा हुने निर्वाचनलाई लक्षित गरी नक्कली नोट पैठारी गर्ने योजना बनाएको खुलेको छ। निर्वाचनको संवेदनशील समयमा बजारमा नक्कली मुद्रा फैलाएर आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिमा प्रभाव पार्ने उद्देश्य राखिएको भारतीय प्रहरीको आशंका छ।
भारतीय प्रहरीले नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व तथा निर्वाचन प्रक्रियामाथिको गम्भीर खतरा मान्दै घटनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। नेपाल र भारत दुवै देशमा सक्रिय गिरोहका अन्य सदस्यहरूको खोजी तीव्र पारिएको छ।













