विश्वकपअघि अन्तिम तयारी : नेपाल चेन्नईमा यूएई र क्यानडासँग वामअप खेल्दै

User Image Prime TV News एक महिना अगाडि
Image of विश्वकपअघि अन्तिम तयारी : नेपाल चेन्नईमा यूएई र क्यानडासँग वामअप खेल्दै

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको तयारीलाई निर्णायक चरणमा पुर्‍याउँदै मुम्बईपछि चेन्नई पुगेको छ।

टोलीले विश्वकप सुरु हुनुअघि चेन्नईमा दुई महत्वपूर्ण वामअप खेल खेल्नेछ, जसलाई खेलाडीहरूको अन्तिम परीक्षा मानिएको छ। पहिलो वामअप खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रंगशालामा सुरु हुनेछ। त्यसैले यो खेल केवल अभ्यास नभई वास्तविक प्रतिस्पर्धा जस्तै हुने निश्चित छ।

नेपालले दोस्रो वामअप खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै खेल एमए चिदाबरम मैदानमै हुनेछन्, जहाँको पिच र वातावरण विश्वकप खेलका लागि महत्वपूर्ण अभ्यास मानिन्छ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड जस्ता बलिया टोली छन्। यो समूहलाई प्रतियोगिताको सबैभन्दा कठिन समूहका रूपमा हेरिएको छ।

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेल मुम्बईमा हुनेछन् र नेपालका सबै खेलका टिकट बिक्री भइसकेका छन्, जसले नेपाली समर्थकको उत्साह स्पष्ट देखाउँछ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो। यो तेस्रो पटक नेपाल विश्वकपको मञ्चमा उत्रिन लागेको हो।