जेनजी आन्दोलनमाथि भएको दमनप्रति संसदीय समितिको गहिरो चिन्ता


काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेकोप्रति राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिले गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि छानबिन गर्न माग गरेको हो। समितिका सभापति माया प्रसाद शर्माले शान्तिपूर्ण तरिकाबाट सुरु भएको आन्दोलनले सहादतमा अन्त्य हुनुपर्ने अवस्थाले दुःखित बनाएको बताए। उनले जनताको आवाज उठाउने प्रयासमा गोली चलिनु लोकतान्त्रिक मूल्य विपरीत भएको टिप्पणी गरे।
बैठकमा बोल्दै समिति सदस्य नरबहादुर विष्टले जेनजी आन्दोलन सुशासन र भ्रष्टाचार विरुद्धको आवाज भएकाले यसको सकारात्मक प्रभाव पर्नुपर्नेमा, दमन र अव्यवस्थाले उल्टो असर परेको बताए। उनले आन्दोलनको गलत व्यवस्थापनले देशलाई दशकौँ पछाडि धकेल्न सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।
समिति सदस्य कृष्ण प्रसाद अधिकारीले प्रदर्शनमा संलग्न युवामाथि लक्षित गरी गोली चलाइएको गम्भीर आरोप लगाए। उनले सत्यतथ्य पत्ता लगाउन छिटो न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे। साथै, आन्दोलनका क्रममा क्षति पुगेका पुरातात्त्विक सम्पदाबारे अध्ययन गरी प्रतिवेदन तयार पार्न पनि सुझाव दिए।
गोमादेवी तिमिल्सिनाले प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभामाथि थप जिम्मेवारी आएको बताउँदै, आन्दोलनमा गोली चल्नु दुःखद भएको बताइन्। उनले आन्दोलनमा सार्वजनिक सम्पत्तिको क्षति भएपनि युवाहरूको उद्देश्य न्यानो र देशको भलोका लागि भएको स्पष्ट पारिन्।
बैठकमा सहभागी सदस्यहरूले आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको विवरण संकलन गरी सरकारसमक्ष पेश गर्न सुझाव दिएका छन्। साथै, सरकारले जिम्मेवारीपूर्वक व्यवहार नगर्दा स्थिति भयावह भएको भन्दै अब ढिला नगरी सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ।