ट्रम्प र मोदी वार्ता, अमेरिका भारतबीच ठुलो व्यापारिक मोड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तापछि अमेरिका र भारतबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सम्झौताको घोषणा गर्दै भारतीय सामानमा लगाइँदै आएको अमेरिकी ट्यारिफ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने जानकारी दिएका छन्।
सम्झौताका अनुसार भारतले रुसी तेल खरिद बन्द गर्ने निर्णय लिएको छ। ट्रम्पका अनुसार प्रधानमन्त्री मोदी अमेरिकासँग ऊर्जा व्यापार बढाउन सहमत भएका छन् भने आवश्यक परे भेनेजुएलाबाट पनि तेल आयात गर्ने विकल्पमा भारत तयार भएको छ।
रुसी तेल खरिदकै कारण भारतमाथि अमेरिकाले लगाएको अतिरिक्त २५ प्रतिशत जरिवाना कर अब हटाइनेछ। यस व्यापारिक सहमतिमा भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढी मूल्यका सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्ने आश्वासन दिएको ट्रम्पले बताएका छन्। गत अगस्टमा ट्रम्प प्रशासनले भारतीय सामानमा ५० प्रतिशतसम्म ट्यारिफ बढाएपछि दुई देशबीचको व्यापारिक सम्बन्ध बिग्रिएको थियो।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई धन्यवाद दिँदै यो सम्झौताले दुवै देशका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने र नयाँ अवसरहरू सिर्जना हुने बताएका छन्। उनले १ अर्ब ४० करोड भारतीय जनताको तर्फबाट यस घोषणालाई स्वागत गरेका छन् ।













