जेनजी शहीद परिवारलाई १० वर्षसम्म मासिक भत्ता, करिब १२ करोड वितरण हुने

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी शहीद परिवारलाई १० वर्षसम्म मासिक भत्ता, करिब १२ करोड वितरण हुने

काठमाडौ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका परिवारलाई करिब १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ।

शहीद परिवारको कल्याणका लागि गठन गरिएको ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ मार्फत उक्त रकम उपलब्ध गराइनेछ। अर्थ मन्त्रालयका उच्च स्रोतका अनुसार कल्याणकारी समाजका लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणसम्बन्धी कार्यक्रम खाका सोमबार मन्त्रालयमा पेस गरिएको छ।

यसअघि पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद परिवार लक्षित कल्याणकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेको थियो। स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भए पनि जेनजी पक्षले कर्मचारीले तलब पाएझैं नियमित भत्ता दिनुपर्ने माग गरेपछि सरकारले अनुदान रकम दिने निर्णयमा पुगेको हो।

सरकारले शहीद घोषणा गरिएका ४२ परिवारलाई १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ। प्रत्येक वर्ष चाडपर्व भत्तासहित १३ महिनाको सुविधा प्रदान गरिनेछ। यसरी ४२ परिवारलाई १३ महिनासम्म भत्ता वितरण गर्दा कुल रकम ११ करोड ९० लाख २८ हजार रुपैयाँ हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये ४२ जनालाई सरकारले औपचारिक रूपमा शहीद घोषणा गरेको छ।