विश्व बैंकबाट नेपालको एसएमई क्षेत्रमा ९५ मिलियन डलरको सहयोग

User Image Prime TV News एक महिना अगाडि
Image of विश्व बैंकबाट नेपालको एसएमई क्षेत्रमा ९५ मिलियन डलरको सहयोग

काठमाडौ । विश्व बैंकले नेपालको दीगो आर्थिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा वित्त परिचालनका लागि ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा एक लाखभन्दा बढी एसएमईहरूको वित्तमा पहुँच विस्तार गर्न, रोजगारी सिर्जना गर्न र निजी क्षेत्र–नेतृत्व वृद्धिलाई प्रवर्द्धन गर्ने कार्यक्रमलाई अनुमोदन गरेको हो। यस कार्यक्रममार्फत जोखिम–साझेदारी प्रणाली विस्तार गरिने, वित्तीय दिगोपन मजबुत बनाइने र व्यवसाय क्षेत्रमा महिला नेतृत्वको विकासलाई विशेष प्राथमिकता दिइने बैंकले जनाएको छ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले यस सहयोगले नेपालको निक्षेप तथा ऋण ग्यारेन्टी कोष (डिपोजिट एन्ड क्रेडिट ग्यारेन्टी फन्ड– डीसीजीएफ) लाई थप सबल बनाउने बताए। वित्तमा पहुँच सहज बनाउँदै र लेनदेनका अवरोधहरू घटाउँदै यस सञ्चालनले वित्तीय समावेशीकरणलाई व्यापक बनाउने, क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृंखलामा नेपाली उद्यमहरूको एकीकरणलाई सहयोग गर्ने उनको भनाइ छ।

यो दिगो र समावेशी वित्त परियोजना विश्व बैंकद्वारा वित्त पोषित वित्तीय क्षेत्र स्थिरता तथा विकास विकास नीति ऋण श्रृंखलाअन्तर्गत समर्थित सुधारहरूको निरन्तरता हो, जुन सन् २०२४ मा सम्पन्न भएको थियो। उक्त ऋण कार्यक्रमले सेवाबाट वञ्चित वर्गहरूको लागि वित्तमा पहुँचलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको थियो।

परियोजनाअन्तर्गत नेपालको क्रेडिट सूचना ब्यूरोको प्रविधि र संस्थागत क्षमतामा पनि लगानी गरिनेछ। यसले डेटा कभरेज विस्तार गर्न, वैकल्पिक डेटा स्रोतहरूको प्रयोग बढाउन तथा डेटा सुरक्षा र गोपनीयतालाई सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले यस पहलमा प्राविधिक सहयोग गर्दै आएको छ।

विश्व बैंकको यो परियोजना नेपाल सरकारले हालै स्वीकृत गरेको दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसँग समेत मेल खाने बताइएको छ। यस सहयोगले एसएमई क्षेत्रलाई थप सबल बनाउँदै समावेशी, दिगो र रोजगारमुखी आर्थिक वृद्धिमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।