सार्वजनिक यातायात सुधारमा राजनीतिक दललाई व्यवसायीहरूको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of सार्वजनिक यातायात सुधारमा राजनीतिक दललाई व्यवसायीहरूको आग्रह

काठमाडौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी निर्वाचनमा सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राख्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै भने, “यस पटक जुन राजनीतिक दलहरूले यातायात क्षेत्रलाई प्राथमिकतामा राख्छन्, हामी त्यसलाई समर्थन गर्नेछौँ।”

सिटौलाले देशभरका यातायात व्यवसायी र मजदुरहरूलाई पनि उम्मेदवारहरूसँग घोषणा पत्रमा यातायात सुधारको प्राथमिकता के छ भन्ने प्रश्न गर्न आग्रह गरेका छन्। उनले चेतावनी दिए कि यदि राजनीतिक दलहरूले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन ध्यान दिएनन् भने आगामी निर्वाचनमा त्यसले उनीहरूलाई नोक्सान पुर्‍याउन सक्छ।

महासंघले यसअघि नै सार्वजनिक यातायातका साधनहरूको आयातमा सहजीकरण हुने नीतिगत योजना ल्याउनका लागि पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराइसकेको छ। यस कदमसँगै यातायात व्यवसायीहरूले निर्वाचनमा सार्वजनिक यातायात सुधार र प्रविधिको प्रयोगलाई मुख्य मुद्दाका रूपमा अघि बढाउने संकेत गरेका छन्।