माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावः मंसिरमा विशेष महाधिवेशन, संगठनात्मक संरचना पुनर्गठन


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर महिनामै विशेष महाधिवेशन गरी पार्टीको नयाँ नेतृत्व चयन गर्न प्रस्ताव गरेका छन्। केन्द्रीय पदाधिकारीहरूको बैठकमा उनले केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचनाहरू भंग गरेर नयाँ ढाँचामा पुनःगठन गर्नुपर्ने धारणा राखे।
"केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं। त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अगाडि बढ्नुपर्छ", अध्यक्ष दाहालले बैठकमा भनेका थिए।
दाहालको प्रस्ताव अनुसार विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व खुला र लोकतान्त्रिक प्रक्रिया अपनाएर चयन गरिनेछ। उनले आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा पनि जोड दिँदै भने, “अब निर्वाचनमै जान उपयुक्त हुन्छ। त्यसैले घोषित निर्वाचनमा होमिनुको विकल्प छैन।”
दाहालको यस प्रस्तावलाई पार्टीभित्र नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र संगठनात्मक पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ। जेनजी आन्दोलन पछि माओवादी भित्र पार्टी नेतृत्वको राजीनामा र पुस्तान्तरणको बहस उठ्दै आएको छ ।