नेपाली कांग्रेसले निर्वाचनको तयारीका लागि सातै प्रदेशमा जनमत बुझ्दै
Prime TV News एक महिना अगाडि काठमाडौ । नेपाली कांग्रेसले आगामी निर्वाचनको तयारीका लागि सातै प्रदेशमा जनमत बुझ्ने अभियान सुरु गरेको छ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले प्रदेश–प्रदेशमा नेताहरू खटाएर स्थानीय जनमत संकलन र सुधारका उपाय पत्ता लगाउन निर्देशन दिएको हो। कोशी प्रदेशमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे र अन्य नेताहरू स्थलगत भ्रमणमा छन्।
उनीहरूले ओखलढुङ्गा र मोरङका क्षेत्रमा पार्टीको वस्तुस्थिति बुझिरहेका छन्। मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादव नेतृत्वमा नेताहरू जनमत बुझ्ने कार्यमा सक्रिय छन्। यस क्षेत्रमा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव धनुषा–४ र पूर्व उपसभापति विमलेन्द्र निधि धनुषा–३ बाट उम्मेदवार छन्।
बागमतीमा सहमहामन्त्री बहादुर सिंह लामा, गण्डकीमा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ र अब्दुल सतार, लुम्बिनी प्रदेशमा सहमहामन्त्री योगेन्द्र चौधरी (दाङ–१), कर्णाली प्रदेशमा सहमहामन्त्री कर्णबहादुर बुढा र केन्द्रीय सदस्य जानकी सिंह, सुदुरपश्चिममा केन्द्रीय सदस्य भरत खड्का र हिम रावललाई जिम्मेवारी तोकिएको छ ।
नेताहरूले सबै जिल्ला र निर्वाचन क्षेत्रमा एक चरणको छलफल गरी पार्टीलाई प्रतिवेदन दिनेछन्। त्यसपछि केन्द्रले त्यही आधारमा प्रचार–प्रसार र रणनीति तय गर्ने तयारी गर्दैछ।













