नाफा बुकिङको दबाबले नेप्से सूचकमा गिरावट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा छोटो अवधिको नाफा बुक गर्ने लगानीकर्ताको दबाब बढ्दा सेयर बजार अपेक्षित सुधार देखाउन सकेको छैन।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई आधार बनाएर बढेको सेयर बजार पुनः बिक्री चापमा परेको हो। निर्वाचनको माहोलले उत्साहित बनेका लगानीकर्ताले सेयर खरिद गरे पनि पछिल्लो समय अल्पकालीन लाभ सुरक्षित गर्ने उद्देश्यले सेयर बिक्री गर्न थालेपछि बजार अस्थिर बन्दै गएको देखिन्छ।
यहि कारण, साताको सुरुदेखि बजार सूचक सकारात्मक रहे पनि कारोबार अवधिमा तीव्र उतारचढाव देखिँदै अन्त्यमा सामान्य अंकमै सीमित हुन पुगेको छ। यसैक्रममा मंगलबार नेप्से सूचक दोहोरो अंकले घटेको छ।
सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार १२.५८ अंकले घट्दै २६८३.१५ बिन्दुमा झरेको हो। कारोबार सुरु हुँदा नेप्से २६९५.७३ अंकमा रहेको थियो। यस दिन सेन्सिटिभ इन्डेक्स समेत २.४५ अंकले घटेको छ।
मंगलबार नेप्सेमा कारोबार भएका ३२२ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको सेयर मूल्य बढेको छ। ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यस दिन कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भएको छ।
समूहगत परिसूचकतर्फ हेर्दा अधिकांश सूचक ओरालो लागेका छन्। बैंकिङ समूह ८.७३ अंकले घटेको छ भने विकास बैंक ३५.७३, वित्त २७.६६, जलविद्युत् ३४.३९, जीवन बीमा ४९.५७, लघुवित्त २०.९०, निर्जीवन बीमा ३९.४४, अन्य १३.१६ तथा व्यापार समूह १७.७१ अंकले घटेका छन्। यद्यपि होटल समूह १३४.७४ अंकले बढ्दा उत्पादनमूलक समूह ३४.५६ अंकले उकालो लागेको छ। सामूहिक लगानी कोष पनि ०.२१ अंकले बढेको छ।
सूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। मंगलबार नेप्सेमा ९२ हजार ३३८ कारोबारमार्फत ८ अर्ब ६३ करोड रुपैयाँ बराबरका १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा बढी हो। सोमबार नेप्सेमा ८ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।













