निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा काठमाडौं महानगरलाई आयोगको स्पष्टीकरण

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा काठमाडौं महानगरलाई आयोगको स्पष्टीकरण

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि काठमाडौं महानगरपालिकाले सुरु गरेको घरदैलो आधारभूत स्वास्थ्य सेवा कार्यक्रमबारे स्पष्टीकरण सोधेको छ।

महानगरपालिकाले ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घर–घरमै गएर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालेको विषयमा आयोगले चासो देखाएको हो। आयोगका अनुसार, यस सम्बन्धमा कार्यबाहक नगरप्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएपछि महानगरलाई औपचारिक पत्र लेखी जवाफ मागिएको हो।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम निर्वाचन अवधिमा घोषणा, स्वीकृति वा सञ्चालन गर्न नपाइने व्यवस्था छ। तर, सरुवा रोगको महामारी वा नियन्त्रण बाहिरको अवस्था सिर्जना भएमा भने आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।

सोही कानुनी व्यवस्थाको आधारमा आयोगले महानगरपालिकालाई सुरु गरिएको भनिएको स्वास्थ्य सेवा कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश थियो वा थिएन भन्ने स्पष्ट पार्न निर्देशन दिएको छ। यदि कार्यक्रम बजेटमै परेको भए त्यससम्बन्धी प्रमाणित कागजात पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्न पनि आयोगले आग्रह गरेको छ।