निर्वाचन बहिष्कारका लागि पाँच कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन बहिष्कारका लागि पाँच कम्युनिस्ट पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका पाँच कम्युनिष्ट पार्टीहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

पाँच साना कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले माघ २० गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने संघर्षका कार्यक्रम घोषणा गरेको हो । समितिका संयोजक सीपी गजुरेलद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत पर्चा वितरण, भित्तेलेखन, घरदैलो अभियान तथा कोणसभाहरू आयोजना गरिने छन् ।

माघ १७ गते बसेको समितिको बैठकले यी कार्यक्रम तय गरेको र त्यसको मूर्त योजना तथा कार्यान्वयन स्थानीय संयुक्त संघर्ष समितिहरूले गर्ने जनाइएको छ । समितिले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’ को संज्ञा दिँदै स्वाधीन संयुक्त जनसरकार गठन र जनसंविधान निर्माणको संघर्षलाई अघि बढाउन निर्वाचन बहिष्कार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

साथै समितिले देशभक्त, प्रगतिशील तथा वामपन्थी शक्तिसहित मजदुर, किसान, कर्मचारी र राष्ट्रिय पुँजीपति वर्गलाई समेत बहिष्कार अभियानमा सहभागी हुन अपिल गरेको छ । यसैबीच, निर्वाचन बहिष्कार अभियानका क्रममा आफ्ना नेता पक्राउ परेको भन्दै समितिले आपत्ति जनाएको छ ।

अभियानकै सिलसिलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सिन्धुलीको दुधौलीबाट प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै समितिले उनको तत्काल रिहाइको माग गरेको छ ।

केन्द्रीय संयुक्त संघर्ष समितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी (जनपक्ष) आबद्ध रहेका छन् ।