कविराज नेगी लामालाई विश्व तेक्वान्दो महासंघको ‘पारा तेक्वान्दो कोच अफ द इयर २०२५’ अवार्ड

User Image Prime TV News एक महिना अगाडि
Image of कविराज नेगी लामालाई विश्व तेक्वान्दो महासंघको ‘पारा तेक्वान्दो कोच अफ द इयर २०२५’ अवार्ड

काठमाडौ । नेपाली तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षक कविराज नेगी लामा विश्व तेक्वान्दो महासंघ (डब्ल्यूटीएफ) बाट सम्मानित हुने पहिलो नेपाली बनेका छन् ।

विश्व तेक्वान्दो महासंघले प्रदान गर्ने पारा तेक्वान्दो कोच अफ द इयर २०२५ अवार्ड नेगीले संयुक्त अरब इमिरेट्सको फुजैराहमा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ समारोहमा प्राप्त गरेका हुन् । अल बहर होटल एन्ड रिसोर्टको एमिरेट्स बलरुममा सम्पन्न कार्यक्रममा डब्ल्यूटीएफका अध्यक्ष डा. चाउ चुङ–वनले उनलाई अवार्ड प्रदान गरेका थिए ।

नेपाल तेक्वान्दो संघका अनुसार नेपाली पारा तेक्वान्दो खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय सफलतामा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा वर्ल्ड तेक्वान्दो टेक्निकल कमिसनले नेगीलाई उक्त अवार्डका लागि छनोट गरेको हो ।

सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टिमको प्रशिक्षकका रूपमा कार्यरत नेगीको नेतृत्वमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हात पारेको छ । एसियन गेम्सदेखि पाराओलम्पिक खेलसम्म तथा एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसिपसम्म नेपालले ३ स्वर्ण, २ रजत र ८ कास्य गरी १३ पदक जितेको छ ।

नेगीकै प्रशिक्षणमा पलेसा गोवर्धनले पेरिस २०२४ पाराओलम्पिक र हाङ्जाउ एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी थिइन् । त्यसैगरी सिर्जना घिसिङले २०२२ वर्ल्ड ग्रान्ड प्रिक्स फाइनल (जी–१०) मा स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

डब्ल्यूटीएफले हरेक वर्ष आयोजना गर्ने वर्ल्ड तेक्वान्दो गाला अवार्डमा ओलम्पिक तथा पाराओलम्पिक वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा सदस्य राष्ट्रिय संघलाई सम्मान गर्ने गरिन्छ । हाल विश्व तेक्वान्दो महासंघमा नेपालसहित २१३ देश आबद्ध छन् ।