राष्ट्र बैंकद्वारा ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्दै

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्र बैंकद्वारा ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज ४५ अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन गर्न लागेको छ। अत्यधिक तरलता कायमै रहेकाले केन्द्रीय बैंकले ‘ओपन मार्केट अपरेसन’अन्तर्गत निक्षेप संकलन उपकरणमार्फत यो रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार हाल मुलुकको कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। बैंकिङ प्रणालीमा रहेका बढी तरलता र ब्याजदर सन्तुलनमा राख्न केन्द्रीय बैंकले संरचनात्मक रूपमा निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।

आजको निक्षेप संकलन प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत प्रतिस्पर्धात्मक बोलकबोलको आधारमा हुनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

बोलकबोल प्रक्रियामा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। अधिकतम रकम ५ करोडले भाग गर्दा निःशेष जाने गरी तोकिएको हो। बोलकबोलमा सबैभन्दा कम ब्याजदर बोल गर्ने सहभागीलाई प्राथमिकता दिइनेछ।

राष्ट्र बैंकले आज आह्वान गरिएको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी २०८२ असोज ५ गते भुक्तानी गरिने जनाएको छ।

‘केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय प्रणालीमा दीर्घकालीन प्रकृतिको तरलता देखिएमा, बजार ब्याजदर सन्तुलनमा राख्न अधिकतम ६ महिनासम्मको अवधि कायम गरी संरचनात्मक निक्षेप संकलन गर्न सकिन्छ,’ राष्ट्र बैंकले जनाएको छ।

यसै व्यवस्था अन्तर्गत राष्ट्र बैंकले पछिल्ला समयमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो।