साताको पहिलो दिन सेयर बजारमा हरियाली

User Image Prime TV News २ हप्ता अगाडि
Image of साताको पहिलो दिन सेयर बजारमा हरियाली

काठमाडौ । अघिल्लो कारोबार दिन ६ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार ४.४४ प्रतिशतले बढेको छ। १११ अंकले उक्लँदा नेप्से परिसूचक २६२३ अंकमा पुगेको छ ।

अघिल्लो दिन नेप्से २५११ अंकमा झरेको थियो। प्रारम्भिक कारोबारमा बजारमा केही उतारचढाव भए पनि साढे ११ बजेपछि बजारमा राम्रो उछाल देखियो र अन्तिम समयसम्म बढेको अवस्था कायम रह्यो। आइतबार ९ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ भने २२४ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ।

निर्जीवन बीमा क्षेत्र बाहेक सबै सेक्टरले राम्रो प्रदर्शन गरेको छ। निर्जीवन बीमा क्षेत्र ४.०२ प्रतिशतले घटेको छ। भदौ २४ गते भएको आगजनीका कारण व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा बीमा कम्पनीहरूको दायित्व बढेपछि यो सेक्टरमा नकारात्मक प्रभाव परेको हो।

व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ क्षेत्रमा ४.५२ प्रतिशत, विकास बैंकमा ६.०७ प्रतिशत, फाइनान्समा ५.५४ प्रतिशत, होटल तथा पर्यटनमा २.३३ प्रतिशत, हाइड्रोपावरमा ५.८३ प्रतिशत, लगानी क्षेत्रमा ७.६८ प्रतिशत, जीवन बीमा ५.६६ प्रतिशत, उत्पादन तथा प्रशोधनमा ४.८५ प्रतिशत, माइक्रोफाइनान्समा ३.६९ प्रतिशत र अन्य क्षेत्रहरूमा १.५३ प्रतिशतले मूल्य बढेको छ।