म्यानमारमा १८ जना नेपाली पुरुषलाई एक वर्ष कैद र श्रमको सजाय

User Image Prime TV News एक महिना अगाडि
Image of म्यानमारमा १८ जना नेपाली पुरुषलाई एक वर्ष कैद र श्रमको सजाय

काठमाडौ । म्यानमारको अदालतले म्यावडीस्थित गैरकानुनी स्क्याम सेन्टरमा काम गरिरहेका १८ जना नेपाली पुरुषलाई एक वर्ष कैद र श्रमको सजाय सुनाएको छ। म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार, यस सम्बन्धमा थप जानकारी बुझ्ने प्रक्रिया जारी छ।

उनीहरूलाई थाइल्यान्ड म्यानमार सीमा नजिक उद्धार प्रयासका क्रममा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो। केही साताअघि थाइल्यान्डस्थित नेपाली दूतावासको टोलीले उनीहरूलाई उद्धार गर्न म्यानमारको बोर्डर नजिक पुगेको थियो।

उद्धारपछि फर्किएका नेपालीहरूले बताएअनुसार, म्यानमारको स्क्याम सेन्टरमा उनीहरूलाई बन्धक बनाई साइबर स्क्यामिङ, अनलाइन फ्रड, बिटक्वाइन लगानीमा ग्राहकलाई ठग्ने काममा लगाइएको थियो। काम मन नपरे वा टार्गेट पूरा नगरेमा शारीरिक यातना, करेन्ट, अँध्यारो कोठामा थुन्ने, पानीको जार बोकेर चलाउने जस्ता दण्ड दिइन्थ्यो। कामको दबाब, मानसिक तनाव र लगातारको शोषणका कारण पीडितहरू निकै जोखिममा थिए।

उनीहरूलाई प्रलोभनमा पार्ने माध्यम भने सामाजिक सञ्जाल, अनलाइन गेमका साथी, भाइबर, टेलिग्राम, टिकटोक आदि थिए। प्रारम्भमा राम्रो काम र उच्च तलबको आश्वासन दिइएको भए पनि, पछि निश्चित टार्गेट पूरा नगरेमा ठूलो आर्थिक र शारीरिक शोषण गरिन्थ्यो। उद्धारमा फर्किएका नेपालीको उमेर १७–४० वर्ष बीचको छ र उनीहरू नेपालका २६ जिल्लाबाट फसेको पुष्टि भएको छ।

पछिल्लो अढाई वर्षमा म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले ४०० भन्दा बढी नेपाली उद्धार गरी नेपाल फर्काइसकेका छन्।