रवि लामिछानेद्वारा पुरानो संसद फर्काउने प्रयास अस्वीकार्य घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुरानो प्रतिनिधि सभा षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि प्रयास, दबाब वा धम्की स्वीकार नहुने स्पष्ट पारेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परे पनि लामिछानेले भनेका छन् कि जनताले विद्रोह गरेर फालेको संसदलाई फेरि फर्काउने कुनै खेल हुन नदिनेछ। सभापति लामिछानेले फेसबुकमा लेख्दै राजनीतिक दलहरूलाई व्यंग्य गर्दै भनेका छन्, “अझै पनि जो जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तोसुकै गठबन्धन गर, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ। हामी मत परिणाम स्वीकार्छौं, तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसदलाई षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै चलखेल स्वीकार्दैनौं।”
उनी राष्ट्रको वास्तविक शक्ति जनतामा रहेको र देश कुनै एक नेताको होइन, जनताको सहभागितामा चल्ने कुरा जोड दिएका छन्। लामिछानेले भनेका छन्, “तिनै जनताको ताकतको बलमा मतपत्रमार्फत हामी सुशासनको घन्टी बजाउँदै, विकास-कूटनीति र अर्थ राजनीतिको नयाँ युग सुरु गर्न चाहन्छौं। गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ।”
सभापति लामिछानेले आगामी फागुन २१ लाई नेपाली इतिहासको माइलस्टोनको रूपमा व्याख्या गर्दै नयाँ संसदमा पुराना, भ्रष्ट र अपराधी प्रवृत्तिका नेता हुन नहुने बताएका छन्। उनले जनतामा रहेको शक्ति प्रयोग गरी देशको भविष्य लेख्ने जिम्मा जनताले नै लिनुपर्नेमा जोड दिएका छन्।












