विश्वकप २०२६ को तयारी खेलमा यूएईविरुद्ध नेपालको आत्मविश्वासी जित

User Image Prime TV News एक महिना अगाडि
Image of विश्वकप २०२६ को तयारी खेलमा यूएईविरुद्ध नेपालको आत्मविश्वासी जित

काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीअन्तर्गत खेलिएको पहिलो वार्म अप खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ।

सुरुआती झट्कापछि आरिफ शेख र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेवार र आक्रामक ब्याटिङले नेपाललाई बलियो जित दिलाएको हो। १४६ रनको लक्ष्य पछ्याएको नेपालले इनिङको सुरुमै खराब अवस्था भोग्नुपर्‍यो।

ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तोमा आउट भए भने कप्तान रोहितकुमार पौडेल पनि रनआउट हुँदा ६.५ ओभरमै नेपाल ४५ रनमा तीन विकेट गुमाएर दबाबमा परेको थियो। यस्तो अवस्थामा नेपाल हारतर्फ उन्मुख देखिएको थियो।

तर त्यसपछि मैदान सम्हालेका आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले खेलको नियन्त्रण आफ्ना हातमा लिए। चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै उनीहरूले नेपालको इनिङलाई स्थिर मात्र बनाएनन्, जित पनि सुनिश्चित गरे।

आरिफले ३७ बलमा ६१ रनको उत्कृष्ट इनिङ खेले भने ऐरीले ३१ बलमा अर्धशतक पूरा गरे । यसअघि यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

शोएब खान र हर्षित कौशिक बाहेक यूएईका अन्य ब्याट्सम्यान खासै प्रभाव पार्न सकेनन्। नेपालको बलिङ आक्रमण सन्तुलित देखियो। करण केसी र सन्दीप लामिछानेले दुईदुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

नेपालले अब दोस्रो वार्म–अप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध हुने पहिलो विश्वकप खेलअघि यस्तो जितले टिमको आत्मविश्वास बढाएको छ ।