मादुरो प्रकरणले भेनेजुएला उथलपुथल, सडकमा हजारौँ समर्थक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी सैन्य हस्तक्षेपपछि पक्राउ परेका भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोको रिहाइको माग गर्दै राजधानी कराकसमा हजारौँ समर्थकले प्रदर्शन गरेका छन्।
लागूऔषध ओसारपसारको अभियोगमा न्युयोर्क लगिएको ठीक एक महिना पुगेको अवसरमा मादुरो समर्थकहरू ‘भेनेजुएलालाई निकोलस चाहिन्छ’ भन्ने नारासहित सडकमा उत्रिएका हुन्।
सरकारी पहलमा गरिएको यस प्रदर्शनमा सार्वजनिक क्षेत्रका कर्मचारीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। प्रदर्शनकारीहरूले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसका तस्बिर बोकेर समाजवादी आन्दोलनको प्रतीक रातो पहिरन लगाएका थिए। फ्लोरेस पनि अमेरिकी हिरासतमा परेकी छिन्।
मादुरो हटेपछि सत्ता सम्हालिरहेकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेज गम्भीर राजनीतिक दबाबमा परेकी छिन्। एकातिर अमेरिकाको समर्थन गुम्ने डर छ, अर्कोतिर आफ्नै दलभित्रका मादुरो समर्थक र सडकमा उत्रिएको जनभावनालाई बेवास्ता गर्न सक्ने अवस्था छैन।
जुलुसको नेतृत्व गर्दै मादुरोका छोरा तथा नेशनल एसेम्बली सदस्य निकोलस ‘निकोलासितो’ मादुरो गुएराले अमेरिका विरुद्ध कडा अभिव्यक्ति दिएका छन्। उनले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै भेनेजुएलाली जनता अमेरिकी प्रभाव स्वीकार्न तयार नभएको दाबी गरे।
प्रदर्शनमा सहभागी ५८ वर्षीय नगरपालिका कर्मचारी जोसे परडोमोले अन्तरिम सरकारका केही निर्णय सही भए पनि अन्ततः मादुरोलाई रिहा नगरे देश थप अस्थिर हुने चेतावनी दिए। रोचक कुरा के छ भने रोड्रिग्वेज आफैँ विगतमा मादुरोकी उपराष्ट्रपति तथा कट्टर समर्थक थिइन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिग्वेजले वासिंटनको नीति स्वीकारे, विशेषगरी भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुनिश्चित गरे, सहकार्य सम्भव हुने संकेत दिएका छन्।
यही दबाबमा रोड्रिग्वेजले राजनीतिक बन्दी रिहा गर्न थालेकी छिन् र राष्ट्रियकरण गरिएका हाइड्रोकार्बन उद्योगहरू निजी लगानीका लागि खोल्ने निर्णय गरिसकेकी छिन्। यससँगै सन् २०१९ देखि बिग्रिएको अमेरिका भेनेजुएला कूटनीतिक सम्बन्ध पुनः सुरु भएको छ।













