स्वास्थ्य बिमा सुविधामा कटौतीबारे प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of स्वास्थ्य बिमा सुविधामा कटौतीबारे प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय छलफल

काठमाडौ । स्वास्थ्य बिमा बोर्डले बहिरंग (ओपीडी) सेवाको सीमा घटाएपछि उत्पन्न विवादबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वपक्षीय बैठक बोलाएकी छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठक आज बुधबार दिउँसो १ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकमा स्वास्थ्य बिमासँग सम्बन्धित सबै सरोकारवाला निकायका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको उनले जानकारी दिए।

स्वास्थ्य बिमा सुविधामा गरिएको कटौतीपछि सेवाग्राहीमा देखिएको असन्तुष्टि र यसबाट उत्पन्न समस्याको समाधानका उपायबारे छलफल गर्न बैठक आयोजना गरिएको रावलले बताए। स्वास्थ्य बिमा बोर्डले हाल सात सदस्यीय परिवारबाट वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिएर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो।

तर अस्पतालहरूलाई तिर्नुपर्ने भुक्तानी रकम बढ्दै गएको भन्दै बोर्डले सोमबार सूचना जारी गरी ओपीडी सेवाको सीमा घटाएको हो। नयाँ व्यवस्था अनुसार फागुन १ गतेदेखि स्वास्थ्य बिमा गरेका परिवारले वार्षिक २५ हजार रुपैयाँसम्मको मात्र ओपीडी सेवा पाउने छन्।

यद्यपि क्यान्सर, मिर्गौला रोग लगायत आठ प्रकारका कडा तथा दीर्घरोगको उपचार सुविधा भने यथावत् रहने स्वास्थ्य बिमा बोर्डले स्पष्ट पारेको छ। बिमा सुविधामा गरिएको कटौतीले आम सेवाग्राहीलाई असर पार्ने भन्दै यस निर्णयको चौतर्फी आलोचना भइरहेको छ।