सरकारले राजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न सकेनः झलनाथ खनाल

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारले राजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न सकेनः झलनाथ खनाल

काठमाडौ । तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौको बौद्ध क्षेत्रमा भइरहेको प्रवचनलाई लिएर पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

मंगलबार नेपाली कम्युनिष्ट पार्टी, काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर १५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले रिम्पोछेको नेपाल आगमन सामान्य धार्मिक गतिविधिमा सीमित नरहेको बताए। उनका अनुसार यो विषय कूटनीतिक रूपमा अत्यन्त संवेदनशील छ र यसप्रति सरकारले गम्भीरता नदेखाएको आरोप लगाए।

खनालले सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपालको स्थापित एक चीन नीतिमाथि ठाडो प्रहार भएको टिप्पणी गरे। यसले नेपाल चीन सम्बन्धलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्‍याएको दाबी पनि उनले गरे।

हाल तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछे काठमाडौँमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन्। यही विषयलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक असन्तुष्टि जनाएको चर्चा चलिरहेका बेला खनालको कडा प्रतिक्रिया आएको हो।

‘यस्तो गैरजिम्मेवार रवैयाले नेपाल–चीन सम्बन्धलाई इतिहासकै तल्लो स्तरमा पुर्‍याएको छ,’ खनालले भने, ‘यसको असर कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही देशमा थप राजनीतिक संकट निम्त्याउने खतरा छ।’

खनालले नेपालको भूराजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसविपरीत गरिने कुनै पनि गतिविधि राष्ट्रिय हितविपरीत हुने चेतावनी दिए।

उनले सरकारलाई एक चीन नीतिप्रति स्पष्ट, दृढ र व्यवहारिक प्रतिबद्धता देखाउन आग्रह गर्दै यस्ता संवेदनशील विषयमा राज्यस्तरबाट गम्भीर समीक्षा आवश्यक रहेको बताए।