संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव भएको सन्देश देशभर गएको छ : मुख्यमन्त्री आचार्य

User Image Prime TV News एक महिना अगाडि
Image of संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव भएको सन्देश देशभर गएको छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर प्रवाह गर्न प्रदेश सरकार सफल भएको बताएका छन्।

प्रदेश स्थापना दिवसको अवसरमा बुधबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारे। प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन तथा नीतिगत संरचना निर्माण गरिएको उनले बताए।

उनका अनुसार ती कानुनी र नीतिगत व्यवस्थाले प्रदेश सरकारको कार्यक्षमता सुदृढ बनाएको छ। संघीयताको औचित्य व्यवहारमै देखिने गरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्दै आएको मुख्यमन्त्री आचार्यको भनाइ छ।

संविधानको पूर्ण पालना र संरक्षणका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे। संघीय संरचनाको सम्मान, अधिकारको व्यवहारिक कार्यान्वयन र स्रोतसाधनको सुनिश्चिततामा लुम्बिनी प्रदेश सधैँ स्पष्ट र दृढ रहेको उनले बताए।

प्रदेश सरकार स्थापना भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई कार्यसम्पादनको मूल आधार बनाइएको मुख्यमन्त्री आचार्यले बताए। सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व मजबुत बनाउने काम निरन्तर भइरहेको उनको भनाइ छ। चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउने नीति कडाइका साथ कार्यान्वयन गरी विकास आयोजनाहरू अघि बढाइएको पनि उनले जानकारी दिए।

मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा प्राप्त संघीयतालाई प्रशासनिक र वित्तीय संघीयताको रूपमा समेत संस्थागत गर्नु अपरिहार्य भइसकेको उल्लेख गरे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी तथा आम नागरिकको सहकार्य आवश्यक रहेको उनले बताए।

यसैबीच, प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो। स्थापना दिवसका अवसरमा प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा मूल समारोहको आयोजना गर्ने कार्यक्रम छ।