गद्दाफीका छोरा सैफ अल इस्लाम गद्दाफीको हत्या

User Image Prime TV News एक महिना अगाडि
Image of गद्दाफीका छोरा सैफ अल इस्लाम गद्दाफीको हत्या

काठमाडौ । लिबियामा एकपटक फेरि राजनीतिक अस्थिरता र सुरक्षा चिन्ता गहिरिएको छ। पूर्वतानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल इस्लाम गद्दाफीको जिन्टान सहरस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ।

५३ वर्षीय सैफ अल इस्लाम मंगलबार साँझ आफ्नो घरको बगैँचामा टहलिरहेका बेला चारजना नकावधारी अज्ञात बन्दुकधारीले उनीमाथि गोली प्रहार गरेका थिए। घटनास्थलमै उनको मृत्यु भएको लिबियाली अधिकारी तथा पारिवारिक स्रोतले पुष्टि गरेका छन्।

लिबियाली सञ्चारमाध्यमका अनुसार आक्रमणकारीहरू घरभित्र प्रवेश गर्नुअघि सुरक्षा क्यामेराहरू निष्क्रिय पारेका थिए। त्यसपछि भएको छोटो झडपपछि सैफ अल इस्लाममाथि गोली प्रहार गरिएको बताइएको छ। आक्रमण अत्यन्तै योजनाबद्ध र व्यावसायिक ढंगले गरिएको देखिएको छ।

सैफ अल इस्लामका वकिल खालिद अल जायदी तथा उनका राजनीतिक प्रतिनिधिहरूले उत्तर पश्चिमी लिबियाको जिन्टान सहरमै उनको हत्या भएको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार आक्रमणकारीहरू ‘कमान्डो युनिट’जस्तै देखिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन।

लिबियाली सुरक्षानिकायले घटनाको अनुसन्धान सुरु गरिसकेका छन्। तर हत्याको पछाडि कसको हात छ र यसको राजनीतिक उद्देश्य के थियो भन्नेबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।

सैफ अलइस्लाम कुनै समय लिबियाको सत्ता हस्तान्तरणका प्रमुख दाबेदार मानिन्थे। आफ्ना पिता मुअम्मर गद्दाफीको शासनकालमा उनी प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए। करिब १५ वर्षअघि मुअम्मर गद्दाफीको पनि हिंसात्मक रूपमा हत्या गरिएको थियो।