सरकार चुनावमा धाँधली गर्न संलग्न छः महेश बस्नेत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव तथा भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले आगामी चुनावमा सरकार स्वयं धाँधलीमा संलग्न रहेको आरोप लगाएका छन्।
बुधबार काठमाडौँमा उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बस्नेतले भने, “हिमाली जिल्लामा चुनाव सम्भव नभएको भन्दै मतदान चैत वा वैशाखमा सार्दा प्रहरी र सेनाका ब्यारेक तथा क्याम्पहरूमा मतपेटिका राखेर कसलाई जिताउने र कसलाई हराउने भन्ने हिसाबकिताब गर्ने षड्यन्त्रमा सरकार संलग्न छ। यो कुरा पुष्टि स्वयं प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभामा गरिएको सम्बोधनले गरेको छ।”
बस्नेतले सरकारले चुनाव दुई चरणमा गर्न लागिरहेको दाबी गर्दै, यसरी धाँधली हुने भएकाले निष्पक्ष चुनावमा विश्वास गर्न नसकिने बताए। साथै, उनले संसद् पुनर्स्थापना माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्च अदालतले तत्काल फैसला दिनुपर्ने माग राखे। बस्नेतले न्यायिक प्रक्रिया ढिलाइ भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै भने, “हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्र नभई सम्पूर्ण न्यायिक प्रणाली नै संकटमा परेको अनुभूति हुन्छ।”













