आगामी निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग सचेत

User Image Prime TV News एक महिना अगाडि
Image of आगामी निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग सचेत

काठमाडौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्। दुरुपयोगले निर्वाचन प्रक्रियामा गम्भीर असर पार्ने भन्दै उनले सजगता आवश्यक रहेको उल्लेख गरे।

निर्वाचन प्रयोजनका लागि सहयोग गर्ने प्रतिबद्धतासहित निर्वाचन आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा आयुक्त भण्डारीले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए। “आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन। यस्ता गतिविधिले निर्वाचनलाई बिथोल्ने र संग्लिएको माहोललाई धमिल्याउने प्रयास हुन सक्छ,” उनले भने।

उनले विश्व समुदायको नजर नेपालको निर्वाचन प्रक्रियामा रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल प्लेटफर्महरूको जिम्मेवार भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। निर्वाचन प्रयोजनार्थ टिकटकले जनाएको सहयोग र प्रतिबद्धताप्रति धन्यवाद दिँदै भण्डारीले यसलाई सकारात्मक कदमका रूपमा लिएको बताए।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गर्दै गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएको छ।

आयोगले टिकटकसहित अन्य डिजिटल प्लेटफर्मबाट प्राप्त सहयोगलाई निर्वाचन व्यवस्थापनमा महत्वपूर्ण सहयोगका रूपमा लिएको छ।