एकै चरणमा निर्वाचन हुनुपर्छः प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन दुई चरणमा नगरी एकै चरणमा गर्नुपर्ने बताएका छन् । निर्वाचन तोकिएकै मितिमा फागुन २१ गते हुने उनको भनाइ छ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन हुने विषयमा कुनै शंका नरहेको स्पष्ट पारे। उनले सरकार र निर्वाचन आयोगलाई एकै चरणमा निर्वाचन आयोजना गर्न सुझाव दिँदै निष्पक्ष र स्वच्छ वातावरणको सुनिश्चितता आवश्यक रहेको बताए।
“चुनाव अवश्य हुन्छ र २१ फागुनमै हुन्छ,” उनले भने, “दुई चरणमा होइन, एकै चरणमा निर्वाचन गरिनुपर्छ र निष्पक्ष वातावरणको ग्यारेन्टी गरिनुपर्छ।”
प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गरे। सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उल्लेख गर्दै उनले मतदाताको सचेत निर्णय नै निर्णायक हुने बताए।
उनले देशलाई एकताबद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध उभिने, सामाजिक न्याय र सुशासनको पक्षमा दृढ रहने तथा आर्थिक विकासलाई गति दिन सक्ने नेतृत्वलाई नेपाली जनताले पहिल्यै चिनेको दाबी गरे। साथै, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित रूपमा अघि बढाउन सक्ने पार्टीप्रति जनताको विश्वास रहेको उनको भनाइ थियो।












