सरकारले ऋण लिएर भए पनि स्वास्थ्य बिमाको बजेट सुनिश्चित गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुधबार स्वास्थ्य बिमासँग सम्बन्धित सरोकारवालाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गरिने बताउँदै जनताले प्रिमियम तिरेर पनि सेवा नपाउने अवस्था कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारिन्।
उनले स्वास्थ्य बिमा कार्यक्रम विशेषतः विपन्न, गरिब, अपांग, अशक्त तथा कमजोर वर्गलाई लक्षित भएकाले यसलाई सामान्य कार्यक्रमको रूपमा नभई विपद् सरह गम्भीर रूपमा लिएर समाधान गर्नुपर्ने धारणा राखिन्। यसका लागि अर्थमन्त्रीसँग छलफल गरी ढिलाइ नगरी समस्या समाधान गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई कडा नियमन गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुन, नियम र एकद्वार प्रणालीमार्फत यसलाई संस्थागत गर्नुपर्ने बताइन्। गरिब, असहाय, अल्पसंख्यक तथा सडकमा जीवन बिताइरहेका नागरिकलाई लाभ पुग्ने गरी कार्यक्रम अघि बढाइनुपर्नेमा उनले जोड दिइन्।
अर्थमन्त्री हाल देश बाहिर रहेकाले फर्किएपछि आवश्यक छलफल गरी स्वास्थ्य बिमा कार्यक्रमका कमजोरी सुधार गरिने प्रधानमन्त्रीको भनाइ छ।













