कांग्रेसमा गुटको राजनीति अन्त्य भएको दाबी गर्दै विनोद चौधरीद्वारा विकासमा साथ दिन आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसमा गुटको राजनीति अन्त्य भएको दाबी गर्दै विनोद चौधरीद्वारा विकासमा साथ दिन आग्रह

नवलपरासी पश्चिम । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीभित्र गुटको राजनीति अन्त्य भइसकेको दाबी गरेका छन्।

बुधबार नवलपरासी पश्चिमको बर्दघाट–७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विगतमा पार्टीभित्र देखिएको गुटगत प्रवृत्तिका कारण तेस्रो शक्तिले फाइदा लिएको बताए। नयाँ नेतृत्व आएपछि कांग्रेस एकताबद्ध भएर अघि बढेको उनको भनाइ थियो।

उनले कांग्रेस स्पष्ट विकास एजेन्डासहित जनतामाझ गएको उल्लेख गर्दै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सिर्जनालाई पार्टीको मुख्य प्राथमिकता बनाइएको बताए। “देशको समृद्धिका लागि कांग्रेससँग स्पष्ट योजना र प्रतिबद्धता छ,” उनले भने।

कार्यक्रममा चौधरीले आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये राजनीतिक अस्थिरताका कारण करिब ३० महिना मात्र प्रभावकारी रूपमा काम गर्न पाएको बताए। बाँकी अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा विकास निर्माणलाई तीव्रता दिने बताए।

नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका चौधरीले आफ्नो क्षेत्रमा नागरिकता सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गरे। पछिल्लो २० महिनामा नागरिकता समस्या समाधानमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै भूमि सम्बन्धी विषयहरू पनि क्रमशः समाधानको चरणमा रहेको जानकारी दिए।

विकास निर्माणका कामलाई अझ प्रभावकारी बनाउन जनताको साथ र सहयोग आवश्यक रहेको भन्दै चौधरीले आगामी निर्वाचनमा समर्थन गर्न आग्रह गरे।