अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई आजीवन जेल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको अभियोगमा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
फ्लोरिडास्थित संघीय अदालतले बुधबार उक्त फैसला सुनाएको हो। सन् २०२४ को राष्ट्रपति चुनावका क्रममा ट्रम्प चुनावी प्रचारमा व्यस्त रहँदा राउथले उनको हत्या गर्ने योजना बनाएको अभियोग प्रमाणित भएको अदालतले ठहर गरेको छ।
सीएनएनका अनुसार राउथ पाँचवटा गम्भीर आपराधिक अभियोगमा दोषी सावित भएका हुन्, जसमा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पको हत्या प्रयास प्रमुख अभियोग रहेको छ।
घटना सन् २०२४ सेप्टेम्बर १५ मा भएको थियो। ट्रम्प फ्लोरिडामा रहेको एक गल्फ कोर्स नजिक प्रचार गतिविधिमा संलग्न भइरहँदा राउथ झाडीभित्र लुकेर बसेका थिए।
उनीसँग सोभियत शैलीको एके–४७ जस्तै देखिने राइफल र शरीर कवच रहेको अनुसन्धानबाट खुलेको थियो। गुप्त सेवा (सिक्रेट सर्भिस) का एजेन्टहरूले संदिग्ध गतिविधि देखेपछि तत्काल गोली प्रहार गरेपछि राउथ घटनास्थलबाट भागेका थिए।
पछि प्रहरीले उनको सवारी साधनको लाइसेन्स प्लेटका आधारमा उनलाई पक्राउ गरेको थियो। अमेरिकी जिल्ला न्यायाधीश एलिन क्याननले फैसला सुनाउँदै राष्ट्रपति पदका उम्मेदवारमाथि गरिएको यस्तो आक्रमण गम्भीर अपराध भएको उल्लेख गरिन्।













