ट्रम्प र सी संवादपछि अमेरिका चीन सम्बन्ध सकारात्मक दिशामा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ट्रम्प र सी संवादपछि अमेरिका चीन सम्बन्ध सकारात्मक दिशामा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध अहिले अत्यन्तै राम्रो अवस्थामा रहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको टेलिफोन वार्तापछि ट्रम्पले दुई देशबिचको आपसी समझदारी मजबुत रहेको स्पष्ट पारेका हुन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै चीनसँगको कूटनीतिक सम्बन्ध र राष्ट्रपति सीसँगको व्यक्तिगत सम्बन्ध दुवै सुदृढ रहेको उल्लेख गरे।

उनले दुवै देशले यो सम्बन्ध स्थिर र सकारात्मक राख्नुको महत्व राम्ररी बुझेको दाबी गरेका छन्। ट्रम्पका अनुसार दुई नेताबिच भएको टेलिफोन वार्ता लामो र गम्भीर थियो।

वार्तामा अमेरिका–चीन व्यापार, सैन्य विषय, ताइवानको अवस्था, रुस–युक्रेन युद्ध, इरानको वर्तमान परिस्थिति र ट्रम्पको प्रस्तावित चीन भ्रमणबारे विस्तृत छलफल भएको थियो।

त्यसैगरी चीनले अमेरिकाबाट तेल र ग्यास खरिद गर्ने, चालु सिजनमा भटमास खरिद २० मिलियन टनसम्म पुर्‍याउने र थप कृषि उत्पादन आयात गर्ने सम्भावनाबारे पनि कुरा भएको ट्रम्पले जानकारी दिएका छन्। उनका अनुसार राष्ट्रपति सीले आगामी सिजनका लागि २५ मिलियन टन भटमास खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुई विश्व शक्तिका नेताबिच भएको यो संवादलाई अन्तर्राष्ट्रिय राजनीति र विश्व अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण मानिएको छ। अमेरिका–चीन सम्बन्ध तनावपूर्ण रहने अघिल्ला वर्षहरूको पृष्ठभूमिमा यो वार्तालाई सम्बन्ध सुधारतर्फको ठोस संकेतका रूपमा हेरिएको छ।